कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियोसहितको समाचार सार्वजनिक गरेपछि प्रहरीले कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरेर ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ भने उक्त घटनामा आवश्यक अनुसन्धान नगरी लापरवाही गरेको भन्दै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकका अनुसार, घटनामा संग्लन युवतीका बुवा सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी लगायत ५ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । साथै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको एसपी धानुकले जानकारी दिए ।
प्रहरी प्रहरी निरीक्षक सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरेको भन्दै उनी माथि विभागिय कारवाही अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।
कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवती निर्घात कुटिएपछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ँप्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका थिए ।
यस काममा मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतको सहभागीता थियो । उनीहरूले घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवलाई प्रहरीबाट छुटाएका थिए । गएराति साढे ११ बजे इन्नर यादवलाई प्रहरीले पुनः घरबाटै नियन्त्रणमा लिएको छ ।