खोलाको बाढी गाउँ पस्यो, सप्तरीमा दुई दर्जन गाविस डुबानमा

खोलाको बाढी गाउँ पस्यो, सप्तरीमा दुई दर्जन गाविस डुबानमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असार २०७४
  • 8.5K
    Shares

सप्तरी । शुक्रबार रातिदेखि लगातार भएको वर्षाका कारण  सप्तरीको विभिन्न ठाउँमा आएको बाढीले जनजीवन कष्टकर बनेको छ ।  लगातार भएको वर्षाका कारण जिल्लाका धेरै ठाउँमा बाढी आएको छ भने केही गाउँमा घर समेत बगाएको छ ।

खाँडो, महुली र त्रियुगा खोला ठाउँ–ठाउँमा भत्किँदा घरहरु जलमग्न भएका छन् । सर्वसाधारणको घरमा बाढीको पानी पसेपछि उनीहरुलाई बस्न र खाना पकाउन पनि समस्या भएको छ ।

खाँडो खोलाको बाँध ठाउँ–ठाउँमा भत्किँदा साविकको रायपुर, मलेठ, राजविराज नगरपालिकाको डुमरी टोल, तिलाठी, लौनियाँ, सकरपुरा, रम्पुरा मल्हनियाँसहितका गाविसमा बाढी पसेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी यादवराज उप्रेतीले अनलाइनखबरलार्इ जानकारी दिए ।

बाढीले मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि डुबानमा परेको छ । यस्तै, महुली खोलामा बाढी उर्लिएपछि साविकको मयनाकडेरी, त्रिकौल, मधवापुर, पोर्ताहा, भारदहसहितका आधा दर्जन गाविस जलमग्न भएको छ ।

यो बाढीले सबैभन्दा बढी मधवापुरमा क्षति गरेको छ । मधवापुर ५ अर्जी टोलका दुई दलित परिवारको घर बाढीले बगाएको छ । बाढीले कपेश्लर सदा र उपेन्द्र रामको घर बाढीले बगाएको छ ।

महुली खोलाकै बाढीले पोर्ताहा ४, ५, ६, ७ र ८ तथा भारदहको वडा नम्बर १, ७ र ८ मा दर्जनौं सर्वसाधारणको घरमा पानी पसेको छ । बाढीले कयौं बिगाहा खेतीयोग्य जग्गा बालुवाले पुरिएको र कतिपय ठाउँमा रोपाइँ भइसकेको खेतमा बाढी पस्दा लाखौंको क्षति भएको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार