मजदुरी गरेर परिवारको गुजारा चलाइरहेकी पार्वतीको मृत्युपछि तीन छोराछोरीको बिचल्ली

मजदुरी गरेर परिवारको गुजारा चलाइरहेकी पार्वतीको मृत्युपछि तीन छोराछोरीको बिचल्ली


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 9.1K
    Shares

सुर्खेत / वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ स्थित तीनकुने चोकमा पर्ने राजमार्गमा शुक्रबार साँझ साढे सात बजे बसले ठक्कर दिँदा मृत्यु भएकी पार्वती दमाईका छोराछोरीको बिचल्ली भएको छ ।

सामान्य मजदुरी गरेर परिवारको गुजारा चलाइरहेकी पार्वतीको मृत्युपछि उनका दुई छोरा र एक छोरी बिचल्लीमा परेको छन् । शुक्रबार काम गरेर घर फर्कंदै गर्दा काठमाडौंबाट आएको ना ५ ख १८२० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । उनका श्रीमान धर्म दमाई बिदेशमा गाडी दुर्घटनामा परी अस्वस्थ छन् ।

हाल बच्चाबच्ची हजुर आमासंग छन् । ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरुको आयआर्जनको बाटो केही छैन । वीरेन्द्रनगर वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसे केही स्थानीय सहित पार्वतीको मुद्दा लिएर आइतबार वीरेन्द्रनगरको उपमेयरको कार्यकक्षमा पुगेका थिए ।

बस व्यवसायी समितिले निमानुसार मृतकको परिवारलाई क्षतिपुर्ति दिने भनेतापनि तीन जना बच्चाको पालन पोषण तथा शिक्षामा सरोकारवालाले जिम्मा लिनुपर्ने भन्दै आइतबार साँझ सम्म आफन्तले लाश बुझेका थिएनन् । चार दिन देखि क्षेत्रीय अस्पताल कालागाउँमा रहेको लाश अन्त्येष्टिका लागि सोमबार बिहान आफन्तले बुझेका छन् ।

मृतक पार्वतीका ९ वर्षको छोरा राजन, ४ वर्षकी छोरी भावना र ३ वर्षको छोरा पारस दमाई छन् । ‘पार्वतीले दिनभर ज्यालादारी गरेर कान्छो छोरा र छोरीलाई मन्टेश्वरीमा पढाइरहेकी थिइन् । बुवा अस्वस्थ छन् । अब बच्चाबच्चीलाई समस्या हुनेभयो ।’ छिमेकी ज्योति विकले भनिन् ।

हजुरआमा लालकली दमाईले आफ्ना नाति नातिनाको भविष्यको लागि सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार