काठमाडौंम २५ कार्तिक २०८३।
यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ।
यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर गच्छेअनुसार उपहार वा दक्षिणा दिई सम्मान प्रकट गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका आज दिनभर लगाउन सकिए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेट उत्तम छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सर्वसाधारणलाई दिनभर टीका लगाउन बाधा छैन, तर राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। शुभकार्यमा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।
भाइटीकाका दिन दियो, कलश र गणेशको पूजासँगै अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने चलन छ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज दिनभर खुला रहनेछ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ।
संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा दर्शन गरी टीका लगाउने पुरानो प्रचलन छ।
यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई ‘किजापूजा’ का रूपमा मनाउने गर्छन्। भक्तपुरका तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार त्यहाँका अधिकांश नेवार समुदायले भने हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन्।