अमेरिका , २५ कार्तिक २०८३।
अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई अदालतको जुरीले दोषी ठहर गरेको छ। अमेरिकाको प्रिन्स विलियम काउन्टीस्थित अदालतमा चलेको बहुचर्चित मुद्दामा मंगलबार (१० नोभेम्बर २०२६) जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या (First-Degree Murder) सहित तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
झन्डै पाँच सातासम्म चलेको सुनुवाइ, दर्जनौँ साक्षीको बयान र विभिन्न वैज्ञानिक तथा डिजिटल प्रमाणमाथि छलफल गरेपछि जुरीले करिब पाँच घण्टाको विचारविमर्शबाट फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
३९ वर्षीय नरेशलाई २८ वर्षीया ममता काफ्लेको हत्या, शव लुकाएको तथा मृत शरीरलाई अपवित्र बनाएको अभियोगमा दोषी ठहर गरिएको हो। फैसलासँगै लामो समयदेखि नेपाली समुदाय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको यो घटनाले नयाँ मोड लिएको छ।
तीनवटै अभियोगमा दोषी
जुरीले नरेशलाई निम्न तीन अभियोगमा दोषी ठहर गरेको छ।
१. प्रथम श्रेणीको हत्या (First-Degree Murder)।
२. शव लुकाउने वा मृत्युको प्रमाण नष्ट गर्ने (Concealing a Dead Body)।
३. मृत शरीरलाई अपवित्र बनाउने (Defiling a Dead Body)।
भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ। त्यसैगरी शव लुकाउने र मृत शरीर अपवित्र बनाउने अभियोगमा पनि छुट्टाछुट्टै कैद सजायको व्यवस्था छ।
अदालतले नरेशलाई अन्तिम सजाय सुनाउने मिति सन् २०२७ मार्च १२ का लागि निर्धारण गरेको छ। सजाय निर्धारण नभएसम्म उनी धरौटीबिनै हिरासतमा रहनेछन्।
अदालतमा नरेशको स्वीकारोक्ति
मुद्दाको सुनुवाइका क्रममा सबैभन्दा चर्चित पक्ष नरेश स्वयं साक्षीका रूपमा अदालतमा उपस्थित भएर दिएको बयान बन्यो।
नोभेम्बर ५ मा अदालतमा बयान दिँदै उनले सन् २०२४ जुलाई ३० मा घरको शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको दाबी गरेका थिए। ममताको शरीर वरिपरि बान्ता, औषधिका क्याप्सुल र विषादीको अवशेष देखेको उनको भनाइ थियो।
उनले ममतालाई बचाउन आफूले करिब ४५ मिनेटदेखि एक घण्टासम्म सीपीआर (CPR) दिएको तर उनी जीवित नभएको दाबी गरेका थिए।
त्यसपछि आफू आत्तिएको र प्रहरीलाई खबर गर्दा आफूमाथि नै शंका हुने डरले शव व्यवस्थापन गर्ने निर्णय गरेको उनले बताएका थिए।
उनले विद्युतीय आरी (Electric Saw) र चक्कु प्रयोग गरी ममताको शव टुक्राटुक्रा पारेको तथा फोहोरका झोलामा राखेर विभिन्न स्थानमा फालेको स्वीकार गरेका थिए।
तर ममताको हत्या आफूले नगरेको र उनले आत्महत्या गरेको दाबीबाट भने नरेश पछि हटेनन्। यही दाबीलाई सरकारी वकिलले अस्वीकार गर्दै ममताको योजनाबद्ध हत्या गरिएको तर्क प्रस्तुत गरेका थिए।
सरकारी वकिलले प्रस्तुत गरेका महत्वपूर्ण प्रमाण
मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षले नरेशविरुद्ध विभिन्न फरेन्सिक, डिजिटल र परिस्थितिजन्य प्रमाण प्रस्तुत गरेको थियो।
१. विद्युतीय आरी र डीएनए परीक्षण
अनुसन्धानकर्ताहरूले नरेशले सन् २०२४ जुन २ मा भर्जिनियाको होम डिपो स्टोरबाट विद्युतीय आरी खरिद गरेको सीसीटीभी फुटेज प्रस्तुत गरेका थिए।
पछि उक्त आरीमा रगतजस्तो देखिने दाग र कपालका रेसा फेला परेका थिए। फरेन्सिक परीक्षणमा आरीभित्रबाट संकलन गरिएको नमुनाको डीएनए ममताको डीएनएसँग मेल खाने देखिएको थियो।
२. घरभित्र भेटिएको रगत
अनुसन्धानका क्रममा दम्पती बस्ने घरको शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेको थियो। कार्पेटमा भेटिएको रगतको डीएनए परीक्षणले ममता र उनकी छोरीको डीएनएसँग बलियो मेल देखाएको वैज्ञानिकहरूले अदालतमा बताएका थिए।
३. इन्टरनेट सर्च र डिजिटल प्रमाण
नरेशको मोबाइल तथा अन्य डिजिटल उपकरणबाट विभिन्न शंकास्पद इन्टरनेट खोजीहरू फेला परेको सरकारी पक्षले जनाएको थियो।
त्यसमध्ये श्रीमती बेपत्ता भए के हुन्छ भन्ने विषयमा सन् २०२४ मार्चमै खोजी गरिएको र घटनाको दिन मानव शरीरसम्बन्धी सामग्री खोजिएको विवरणसमेत अदालतमा प्रस्तुत गरिएको थियो।
४. सीसीटीभी र किनमेलका विवरण
घटना भएको भनिएको समयमा नरेश विभिन्न पसलमा पुगेको सीसीटीभी फुटेज देखाइएको थियो। उनले ठूलो संख्यामा फोहोरका झोला, सरसफाइका सामग्री र अन्य सामान खरिद गरेको विवरण पनि अदालतमा प्रस्तुत गरिएको थियो।
५. वैवाहिक सम्बन्धमा तनाव
ममताका आफन्त, साथीभाइ तथा परिवारका सदस्यहरूले उनीहरूको वैवाहिक सम्बन्धमा समस्या रहेको र ममताले असुरक्षित महसुस गरेको विषयमा बयान दिएका थिए।
ममताका दाजु महेश काफ्लेले पनि अदालतमा बयान दिँदै बहिनीले आफू सुरक्षित नरहेको बताएको र शरीरमा चोटपटक देखिने तस्बिर पठाएको जानकारी दिएका थिए।
सरकारी वकिलले नरेशले ममतामाथि नियन्त्रण कायम गर्ने, आर्थिक स्वतन्त्रता सीमित गर्ने र सम्बन्धमा निरन्तर तनाव सिर्जना गर्ने गरेको आरोप लगाएका थिए।
बचाउ पक्षको दाबी असफल
नरेशका वकिलहरूले भने सरकारी पक्षले ममताको हत्या भएको प्रत्यक्ष प्रमाण प्रस्तुत गर्न नसकेको तर्क गरेका थिए।
उनीहरूले ममताले आत्महत्या गरेको र नरेशले शव व्यवस्थापन गर्ने क्रममा डर तथा मानसिक तनावका कारण गलत निर्णय लिएको दाबी गरेका थिए।
ममताको शव फेला नपरेको र मृत्युको वास्तविक कारण चिकित्सकीय रूपमा पुष्टि गर्न नसकिएको विषयलाई पनि बचाउ पक्षले जोड दिएको थियो।
तर सरकारी पक्षले प्रस्तुत गरेका प्रमाण र साक्षीहरूको बयानका आधारमा जुरीले नरेशलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
सन् २०२४ जुलाईदेखि सुरु भएको रहस्यमय घटना
नेपालबाट अमेरिका पुगेकी ममता काफ्ले भर्जिनियाको मानसास पार्कमा नर्सका रूपमा कार्यरत थिइन्। उनी सन् २०२१ मा अमेरिका पुगेकी थिइन्।
सन् २०२४ जुलाई २७ मा उनी अन्तिमपटक कार्यस्थलमा देखिएकी थिइन्। जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन तथा सामाजिक सञ्जाल गतिविधि बन्द भएको थियो।
ममता काममा नआएपछि उनका सहकर्मीहरूले खोजी गर्न थालेका थिए। अगस्ट २ मा प्रहरी दम्पतीको घर पुगेको थियो। त्यसबेला नरेशले उनी घर छाडेर न्युयोर्क वा टेक्सासतिर गएको हुन सक्ने बताएका थिए।
अगस्ट ५ मा नरेशले नै ममता बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर अनुसन्धानका क्रममा घरभित्र रगतका दाग तथा शंकास्पद सामग्री फेला परेपछि प्रहरीले अगस्ट २२, २०२४ मा उनलाई पक्राउ गरेको थियो।
त्यसयता उनी हिरासतमा रहँदै आएका थिए।
अझै भेटिएको छैन ममताको शव
यस घटनाको सबैभन्दा पीडादायी पक्ष ममताको शव अहिलेसम्म फेला नपर्नु हो।
नरेशले अदालतमा शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरे पनि अनुसन्धानकर्ताहरूले ममताको अवशेष फेला पार्न सकेका छैनन्।
सरकारी पक्षले शव विभिन्न फोहोर संकलन केन्द्र तथा ल्यान्डफिल क्षेत्रमा पुर्याइएको हुन सक्ने दाबी गरेको थियो। अदालतमा प्रस्तुत प्रमाणअनुसार भर्जिनियाको लुरे क्षेत्रमा रहेको फोहोर विसर्जनस्थल पनि घटनासँग जोडिएको थियो।
जुरीको फैसलापछि ममताको परिवारले न्याय पाउने प्रक्रियामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। तर उनको शव फेला नपर्नु र अन्तिम संस्कारसमेत गर्न नपाउनु परिवारका लागि अझै ठूलो पीडा बनेको छ।
नरेशलाई अन्तिम सजाय सुनाउने सुनुवाइ सन् २०२७ मार्च १२ मा हुनेछ। उक्त सुनुवाइपछि मात्रै उनले भोग्नुपर्ने अन्तिम सजाय निर्धारण हुनेछ।