महोत्तरी, २४ कात्तिक २०८३।
महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ ।
सडक ढलान योजनाको काम सम्पन्न भएपछि उपभोक्ता समितिलाई भुक्तानी दिने क्रममा ७२ हजार रुपैयाँ घुस लिएको अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यादवलाई दोषी ठहर गर्दै कैदसँगै बिगोबमोजिम ७२ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ हजार २ सय ८० रुपैयाँ जम्मा गराउने फैसला गरेको छ ।
यादवलाई एक उपभोक्ता समितिका अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
अख्तियारको उजुरीमा आधारित मुद्दामा प्रतिवादी यादवलाई घुस (रिसवत) लिएको ठहर गर्दै अदालतले सो सजाय सुनाएको हो ।