काठमाडौं, २१ कात्तिक २०८३ ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ।
समितिको आज शनिवार बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो।
न्यायपरिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उहाँहरूको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले प्रस्तावित चारै जना न्यायाधीशको सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए। शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ सम्पन्न भएको थियो। उजुरीउपर छलफल सकाएर समितिले सुनुवाइ गरेर अनुमोदनको निर्णय गरेको हो।
न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।