काठमाडौं, २१ कात्तिक २०८३।
आजबाट नेपालीहरुको महान चाडहरु मध्येको दोश्रो ठुलो चाड तिहार शुरु भएको छ। तिहारको पहिलो दिन आज काग गरिदैछ।
कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज बिहान कागलाई मीठो–मीठो खानेकुरा दिएर मनाइँदैछ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आजै काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्णय गरेको हो। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको छ।
शास्त्रीय मान्यताअनुसार कागलाई यमराजको दूत मानिन्छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आज कागको पूजा गरी खुसी पार्ने गरिन्छ।
यस अवसरमा कागेश्वरी मनोहरा–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा–आराधना हुँदैछ।
यम यातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने क्रम शुक्रबार साँझदेखि नै सुरु भएको छ। दक्षिण फर्काएर दीपदान गर्नुपर्ने वैदिक विधि रहेको छ।
यसैगरी लक्ष्मीलाई घरमै स्थिर राख्न गरगहना र तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व शुक्रबार नै मनाइएको छ।