राजविराज, १६ कार्तिक २०८३ ।
बुद्ध एयरको जहाजको टायर पञ्चर भएपछि सोमबार राजविराज विमानस्थलबाट काठमाडौं जाने यात्रु घण्टौंसम्म विमानस्थलमै रोकिएका छन्।
सोमबार दिउँसो २ बजे राजविराज आइपुग्नुपर्ने जहाज काठमाडौं विमानस्थलको हवाई चाप र प्रतिकूल मौसमका कारण साँझ ५:३० बजे मात्रै राजविराज पुगेको थियो। अवतरणपछि जहाजको टायर पञ्चर भएको जानकारी आएपछि काठमाडौं जान प्रतीक्षामा रहेका यात्रु अन्योलमा परेका हुन्।
दिउँसो १ बजेदेखि नै विमानस्थल पुगेका यात्रु साँझसम्म पनि उडानको निश्चित समय नपाउँदा आक्रोशित बनेका छन्। लामो प्रतीक्षाले व्यक्तिगत तथा व्यावसायिक काम प्रभावित भएको, भोक र प्यासले समेत समस्या भएको उनीहरूको गुनासो छ।
केही यात्रुले विदेश जाने अन्तर्राष्ट्रिय उडान छुट्ने चिन्ता व्यक्त गरेका छन्। एक यात्रुले राति १० बजे विदेश जाने उडानको टिकट रहेकाले समयमै काठमाडौं पुग्न नसके क्षतिपूर्तिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् भने भोलिपल्ट परीक्षा रहेकी एक छात्राले परीक्षा प्रभावित हुने चिन्ता व्यक्त गरेकी छन्।
बुद्ध एयर राजविराजका वरिष्ठ अधिकृत सन्दीप खवासका अनुसार पञ्चर भएको टायर मर्मतका लागि विराटनगरबाट अर्को जहाजमार्फत प्राविधिक टोली आइसकेको छ। मर्मतका लागि करिब एक घण्टा लाग्ने र त्यसपछि काठमाडौंका लागि उडान हुने उनले जानकारी दिए।
सोमबार राजविराजबाट काठमाडौँका लागि ६९ जनाले टिकट काटेका थिए। जहाज ढिलो भएपछि ८ देखि १० जनाले टिकट रद्द गराएका छन् भने ५ जनाले मंगलबारका लागि टिकट सारेका छन्। बाँकी ५८ जना यात्रु लिएर जहाज काठमाडौं उड्ने खवासले बताए।