भारतको शिमलामा कार दुर्घटना : डडेल्धुराका आमा–छोरीसहित तीन नेपालीको मृत्यु

भारतको शिमलामा कार दुर्घटना : डडेल्धुराका आमा–छोरीसहित तीन नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०८३
  • 190
    Shares

पोखरा, १४ कार्तिक २०८३। ।

भारतको हिमाचल प्रदेशस्थित शिमलामा भएको कार दुर्घटनामा परी नेपालको डडेल्धुरा जिल्लाका तीन नेपाली नागरिकको मृत्यु भएको छ भने थप एक नेपाली नागरिक गम्भीर घाइते भएका छन्।

शनिबार बिहान करिब ८ः३० बजे शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिकै पनु नाला क्षेत्रमा सडकबाट चिप्लिएर गहिरो खोंचमा खसेर भएको कार दुर्घटनामा परेर डडेल्धुराका तीन नेपाली नागरिकको मृत्यु भएको हो भने थप एक नेपाली नागरिक गम्भीर घाइते छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, मृत्यु हुने नेपाली नागरिकमा डडेल्धुराको आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी छोरी र सोही ठाउँकी निर्मला धामी रहेको प्रारम्भिक जानकारी आएको भन्दै भारतीय प्रहरीले जानकारी दिएको छ। उनीहरू रोजगारी तथा मजदुरीका लागि भारत पुगेका थिए।

भारतीय सञ्चारमाध्यमले भने मृतक नेपाली महिलाहरूको नाम निर्मला, मिना र रोशनी उल्लेख गरेका छन्। उनीहरूलाई क्रमशः पवनकी श्रीमती, प्रेमकी श्रीमती र प्रेमकी छोरीका रूपमा पहिचान गरिएको छ। स्थानीय रूपमा प्राप्त नाम र भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पारिवारिक विवरणमा केही भिन्नता देखिएकाले मृतकको पूर्ण परिचय सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ।

दुर्घटनामा मृत्यु हुने अन्य दुई जना दरोटी गाउँका स्थानीय कुशल र उनकी आमा कल्पना देवी रहेका छन्। उनीहरू स्थानीय बासिन्दा नेपाली मजदुरहरूलाई घाँस काट्ने कामका लागि गाउँतर्फ लैजाँदै गर्दा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा नेपाली नागरिक प्रेम गम्भीर घाइते भएका छन्। उनलाई सुरुमा टिक्कर अस्पतालमा उपचारका लागि लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि शिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेज (आईजीएमसी) रेफर गरिएको छ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन। मृतकहरूको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, दुर्घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले दुःख व्यक्त गरेका छन्। उनले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई निर्देशन दिएका छन्।

टिक्करका तहसीलदार प्रियाञ्जली र नायब तहसीलदार मेहर सिंह फिष्टाका अनुसार दुर्घटनामा मृत्यु भएका पाँचै जनाका परिवारलाई तत्काल राहतस्वरूप जनही १५ हजार भारतीय रुपैयाँ उपलब्ध गराइएको छ।

एकै दुर्घटनामा तीन नेपाली नागरिकको ज्यान गएपछि डडेल्धुराको आलिताल गाउँपालिका र मृतकका परिवारमा शोक छाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार