सल्यान , १४ कार्तिक २०८३।
सल्यानमा बिहिबार साँझ करिब ६:३५ बजे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकमा बिगीबार साँझ करिब ६:३५ बजे सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो भने सात जना घाइते छन्।
दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उक्त दुर्घटनामा परेर सिद्ध कुमाख गाउँपालिका–२ बस्ने ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता वि.क. र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परेर घाइते हुनेमा सोही वडा–२ का २४ वर्षीय देवबहादुर वि.क., ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका, १० वर्षीय युवराज परियार तथा वडा–३ बस्ने १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया बिमला बुढाथोकी भन्ने रुपा बुढाथोकी रहेका छन्।
घाइतेमध्ये देवबहादुर वि.क. र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको छ।
जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ बस्ने ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सल्यान पठाइएको छ।