धादिङ, १२ कार्तिक २०८३ ।
चोरीको मोटरसाइकल र बन्दुकसहित धादिङबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८, मजुवा निवासी १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही स्थानको सिउरेनी निवासी २२ वर्षीय शिशिर तामाङ रहेका छन्।
प्रहरीले उनीहरुलाई आज बिहान करिब ६ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको जनाएको छ। उनको साथबाट एक थान बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको विवरणअनुसार शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ।
त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ। बरामद मोटरसाइकल र बन्दुकसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।