काठमाडौं ६ कार्तिक २०८३ ।
दशैं मनाउन माइती पुगेका आमाछोरी सिन्धुलीको एक क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा मृत भेटिएका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरी मृत भेटिएका हुन्।
प्रहरीका अनुसार , बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका डुबेकी थिइन्। छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी थिइन्। घटनामा दुवैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दशैं मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयवासी शोकमा परेका छन्। घटनाले गाउँमा शोक छाएको छ। घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ।