पोखरा,५ माघ २०८१।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एबम नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धब थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीलाई पक्राउ गरेको छ।
दोमुखामा नेपाल प्रेस युनियन झापाले आयोजना गरेको कार्यक्रमबाट फर्कदै गर्दा सुरुङ्गा नजिकै थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीलाई पक्राउ गरेको हो । कुटपिटबाट नेता थापाको निधारमा चोट लागेको छ ।
थापालाई कुटपिट गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणको बा १ ञ १८७० चालक र सहयोगी कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
थापा सवार बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा थापा सवार बा १ झ ६५३ नं को गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ । आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
प्रहरीले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो । तर सुरक्षाको कारण देखाउँदै उनीहरूको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने डीएसपी चन्दले बताए ।