पोखरा,४ माघ २०८१।
बाटो बिराएर सोलुखुम्बुबाट वेपत्ता भएका एक जर्मन नागरिकलाई प्रहरीको टोलीले उद्धार गरेको छ ।
सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं.०३ टोकटोक र बैंकर बीचको जंगलमा चिप्लिएर भिरमा अल्झिरहेको अवस्थामा भेटिएका जर्मन नागरिक बर्ष ४१ को MICHAEL HEINRICH लाई प्रहरीले उद्धार गरेको हो।
चिप्लिएर भिरमा खसेर अल्झिरहेको अवस्थामा फेला परेका उनलाई स्थानीयहरूको सहयोगमा प्रहरी चौकी नाचिपाङ (फाग्दिन) बाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुले जनाएको छ ।
उनी सगरमाथा आधार शिविर भ्रमण गरी लुक्लातर्फ फर्कने क्रममा बाटो बिर्सिएर खच्चड हिड्ने पुरानो बाटोमा हिड्दा चिप्लिएर अं.५/६ मिटर तल झरी भिरमा अल्झिरहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।




