पोखरा,२४ मंसीर २०८१।
सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री प्रकाश भुजेललाई पुर्पक्षमा रहने गरी कारागार चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी कारागार चलान भएका हुन्।
काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।
दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति भएको थियो । यद्यपि, अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।