पोखरा,२३ मंसीर २०८१।
पर्वतको मोदी गाउँपालिकामा तोकिएको समयभन्दा चार महिना अघि मोटरेबलपुल निर्माण सम्पन्न भएको छ। जिल्लाको मोदी गाउपालिका वडा नम्बर ६ स्थित लिदी खोलामा तोकिएको समयभन्दा चार महिना अघि मोटरेबलपुल निर्माण सम्पन्न भएको हो।
२०८१ साल चैत २१ गतेसम्म सक्ने गरी २०८० असोज ६ गते पूर्वाधार विकास कार्यालय, पर्वतसँग सम्झौता गरेर कस्तुरी कन्ट्रक्सनले उक्त मोटरेबलपुल निर्माणको ठेक्का लिएको थियो।
दुई करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा उक्त पुल निर्माण भए पछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क र आसपासका गाउँका बासिन्दालाई सहज भएको छ । पुल बन्नुअघि हिउँदमा जसोतसो खोलाबाट नै सवारीसाधन गुड्ने गर्दै आएका थिए । बर्खायाममा निकै सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
डिमुवा, राम्जा, चित्रे सडकखण्डमा पर्ने पुलको लम्बाइ १५ मिटर छ । यसको भारवहान् क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
उक्त नवनिर्मित मोटरेबलपुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरे । त्यस अवसरमा प्रदेश मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएकोमा खुशी व्यक्त गर्दै मन्त्री केसीले सरकारले केही गरेन भन्नेहरुका लागि गाउँगाउँमा भइरहेका विकास निर्माणका काम नै जवाफ भएको बताए । ‘धेरैले प्रदेश सरकार आवश्यक छैन भनेर कुरा नबुझी बोलेको पनि सुनिरहेको हुन्छु,’ उनले भने, ‘गाउँगाउँमा प्रदेश सरकारले जनताको सहजताका लागि आफ्नो स्रोतसाधनले भ्याएसम्म काम गरेको छ । ती काम र उपलब्धी नै प्रदेश सरकारप्रति उठ्ने प्रश्नको जवाफ हुन् ।’
प्रदेश सभा सदस्य भक्त कुवँरले आवश्यकता पहिचान गरेर आफूले पुल निर्माणका लागि पहल गरेको सुनाए । लिदी खोलाका कारण स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकोमा त्यो समस्या अब नरहने भन्दै उनले खुसी व्यक्त गरे ।
मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्त्रालयको योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानिया, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्याललगायतले बोलेका थिए ।