पोखरा, १९ मंसीर २०८१।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्कीनेटास्थित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. को रकम अपचलन गरेको आरोप लागेका उक्त सहकारीका अध्यक्ष गिरी नारायण श्रेष्ठ पनि जेल चलान भएका छन्। स्थानीय बासिन्दा समेत रहेका गिरी पर्वत जिल्ला अदालतको आदेश बमोजिम पर्वत जिल्ला कारागार चलान भएका हुन्।
गिरीलाई काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं. ०८ शान्तिटोलबाट जिल्ला प्रहरी कार्यालय पर्वत र महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले सोमबार पक्राउ गरेको थियो। काठमाण्डौबाट पक्राउ परेका गिरीलाई प्रहरीले फैसला कार्यान्बयनको जिल्ला अदालत पर्वतमा पेश गरेको थियो।
**********************************************************
जिल्ला पर्वत फलेवास न.पा. वडा नं. १ कार्कीनेटा स्थितमा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. को रकम संचालक तथा व्यवस्थापकबाट हिनामिना भई सहकारी ऐन, २०७४ अन्तर्गतको कसुर सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश कास्की पोखराको पत्र समेतको जाहेरीबाट उठान भएको सहकारी ऐन, २०७४ अन्तर्गतको कसुर मुद्दाको अनुसन्धान पश्चात पक्राउ प्रतिवादीहरुलाई अभियोजन साथ सम्मानित पर्वत जिल्ला अदालतमा उपस्थित गराईएकोमा अनुपस्थित भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा उक्त सहकारी संस्थाका संचालक समितिका अध्यक्ष जिल्ला पर्वत फलेवास न.पा. वडा नं. ०१ कार्कीनेटा बस्ने बर्ष ६४ का गिरी नारायण श्रेष्ठलाई यस कार्यालय तथा प्रहरी बृत्त बालाजु, काठमाण्डौको संयुक्त टोलीले मिति २०८१ मंसिर १७ गते जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ०८ शान्तिटोल स्थितबाट पक्राउ गरी आज मिति २०८१ मंसिर १८ गते सम्मानित जिल्ला अदालत, पर्वतमा उपस्थित गराईएकोमा सम्मानित अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान भएको ।