पोखरा,१६ असोज २०८१।
११ महिना अघि हङकङ पुगेका ताप्लेजुङका एक वडाध्यक्षले उतैबाट राजिनामा पठाएका छन्। जिल्लाको सिरिजङ्घा गाउँपालिका वडानम्बर–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले हङकङबाटै आफ्नो पदबाट राजीनामा पठाएका हुन्।
हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए।
वडाध्यक्ष बोखिमले असोज १८ गतेदेखि लागू हुनेगरी गाउँपालिकाको अध्यक्षमार्फत् ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।
विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा पत्रमा उल्लेख गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।