पोखरा,१६ असोज २०८१।
पैतालामा टेपले बेरेर ल्याइएको अकरीब आधा किलो अबैध सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई हेटौडाबाट पक्राउ गरेको छ।
भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका सुजित सर्राफलाई प्रहरीले पैतालामा टेपले बेरेर ल्याइएको ४९० ग्राम ८८० मिलिग्राम अबैध सुनसहित हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट पक्राउ गरेको हो।
वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतीय नागरिक सर्राफलाई सुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनको साथबाट चार सय ९० ग्राम ८८० मिलिग्राम बराबरको बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान अबैध सुन बरामद गरिएको प्रहरीको दाबी छ।
उक्त परिमाणको सुन मङ्गलबारको बजार भाउ अनुसार ६७ लाख ३४ हजार पाँचसय ४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ ।