पोखरामा लत्रिएको ईन्टरनेटको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरामा लत्रिएको ईन्टरनेटको तार पन्छाउँदा करेन्ट लागेर एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ असोज २०८१
  • 13.3K
    Shares

पोखरा,१२ असोज २०८१।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित गौरीघाटमा लत्रिएको ईन्टरनेटको तार पन्छाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीघाटका खेमबहादुर पौडेल (मंगल)ले आफ्नो घरआँगनमा लत्रिएको ईन्टरनेटको तार पन्छाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार , असोज १ गते दिउँसो करीब १२ः४० बजेको ईन्टरनेटको लत्रिएको तार पन्छाउने क्रममा उनलाई करेन्टले लागेको थियो । ईन्टरनेटको तार छुँदैमा करेन्ट लाग्दैन भन्ने सुनेका उनलाई एक्कासी करेन्टले हातमा झट्का हानेपछि आत्तिए र हत्तपत्त तार हुत्याए । तर हुत्याएको तार आफ्नो घाँटीदेखि छाती हुँदै कम्मरसम्म बेरियो । करेन्ट सहितको तारले बेरिएपछि उनी त्यहिं ढले ।

श्रीमानलाई करेन्ट लागेर ढलेको देखेपछि श्रीमती जानुका पौडेल चिच्याईन् । केहिबेर हारगुहार भएपछि उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

करेन्टले घाँटीदेखि छाती हुँदै कम्मरसम्म र हातपनि जलेको अवस्थामा अस्पताल पु¥याइएका उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो । उनको उपचार कै क्रममा नवौं दिनको दिन मृत्यु भएको हो ।

यसैबीच पीडित परिवारले दोषीमाथि कारवाही गर्न माग गर्दै प्रहरीमा शुरुमा ठाडो निवेदन र त्यसपछि ईन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल विद्युत प्राधिकरणबिरुद्ध किटानी जाहेरी दिएको छ । तर प्रहरीले मुचुल्का तयार पार्नुबाहेक थप कारवाही प्रक्रिया अगाडि नबढाएको पीडित परिवारको गुनासो छ ।

ज्यानमारा तार हटाउन पटक/पटक आग्रह गर्दापनि ईन्टरनेट सेवा प्रदायक कम्पनीले बेवास्ता गरेको आरोप भीमसेन भुजेलको छ ।

यसैबीच, दुई दर्जन संघसंस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै दोषि ईन्टरनेट केवल कम्पनीलाई कारवाही र पीडितलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार