नाजायज सम्बन्ध लुकाउन उदयपुरमा आमाछोराको हत्या : १३ दिनपछि पक्राउ परे बोलेरो चालक

नाजायज सम्बन्ध लुकाउन उदयपुरमा आमाछोराको हत्या : १३ दिनपछि पक्राउ परे बोलेरो चालक


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ असोज २०८१
  • 18K
    Shares

पोखरा,५ असोज २०८१।

उदयपुरको कटारीमा आमा – छोराको हत्या भएको १३ दिनपछि एक जना बोलेरो चालक पक्राउ परेका छन्। उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेकी ३७ वर्षीया निर्मला थापा र उनको ६ वर्षीय छोरा आरुसको हत्या गरेको आरोपमा सोही ठाउँका बोलेरो चालक ३२ वर्षीय ताराबहादुर थापा पक्राउ परेका हुन्।

ताराबहादुरले आफ्नो नाजायज सम्बन्ध रहेकी निर्मला र उनको छ वर्षीय छोरा आरुसको गएको भदौ २० गते राती खुकुरीले हानेर हत्या गरेका थिए।

प्रहरीका अनुसार , श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारत तिर गएपछि उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेकी ३७ वर्षीया निर्मला थापाले गाउँमै वडा कार्यालय नजिक पसल गरेर ६ वर्षीय छोरा आरुससहितको परिवार पाल्दै आएकी थिइन्।

त्यही क्रममा सोही ठाउँका बोलेरो चालक ३२ वर्षीय ताराबहादुर थापा निर्मलाले पसल सञ्चालन गरेदेखि नै नियमितरूपमा उनको पसलमा जाने , खाजा खाने गर्न थाले। त्यतिकैमा उनीहरु बीच शारीरिक सम्पर्कसम्मको सम्बन्ध स्थापित भएको ताराबहादुर स्वयम्ले प्रहरीलाई बताएका छन्।

उनीहरूबीचको सम्बन्ध एकान-दुकान मैदान भएपछि निर्मलाले विवाह गर्न ताराबहादुरलाई दबाब दिँदै आएकी थिइन्। घरमा श्रीमती रहेका ताराबहादुरले निर्मलालाई विवाह नगर्ने तर सम्बन्ध कायम राखिराख्ने निर्णयमा पुगेका थिए।

उनको निर्णय निर्मलाले नमानेपछि उनी अप्ठ्यारोमा परेको प्रहरीसँगको प्रारम्भिक बयानबाट खुलेको छ। उनीहरूबीचको सम्बन्ध श्रीमतीले समेत थाहा पाएपछि घर झगडासमेत हुन आफुले थालेको थियो। श्रीमती आर्थिकरूपले कमजोर रहेको र उनीसँगै निर्भर रहेकाले ताराबहादुरले दैनिकजसो हप्काउने, थर्काउने गरेका थिए।

सम्बन्ध स्वीकार गर्न पटक-पटक दबाब दिएपछि ताराबहादुर भदौ २० गते राति २ बजे निर्मलालाई योजनाबद्ध ढंगले हत्या गर्न घरबाट खुकुरी लिएर गएको बयानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरीहर नाथ योगीले बताए।

खुकुरी लिएर निर्मलाको पसलमा पुगेका ताराबहादुरले विगतमाझैं ढोका खोल्नुपूर्व गरिँदै आएको संकेतअनुसार दुई पटक ढोका ढक-ढक पारेपछि उनले ढोका खोलेकी थिइन्। त्यसपछि उनीहरूबीच विवाद भएको र ताराबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको एसपी योगीले बताए। खुकरी प्रहारलगत्तै बचाउ भन्न थालेपछि बाँसको टाटीमाथि सुतेका छोरा बिउँझिएका थिए। छोरो बिउँझिएपछि घटना बाहिर आउने डरले आफुले छोरा आरुश्को पनि हत्या गरेको ताराबहादुरले बयानमा स्वीकारेका थिए।

हत्यालगत्तै घरको पछाडिबाट भागेको र नजिकै रहेको सोरुङ्ग खोलामा नुहाएर घर पुगेको बयानमा खुलेको छ। अनुसन्धान खटिएका डीएसपी राजन चापागाईले भने, ‘उक्त दिन ठूलो पानी परेका कारण रगताम्मे उनको शरीर पखालिएको थियो। नुहाएपछि झन् सबै रगत गएको थियो।’

प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए। कटारी अस्पतालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुर्याउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला छोरा आरुस थापाको भदौ २० गते विहान करिब ६:३० बजे पसलभित्रै शव भेटिएको थियो। समयमा नै पसल बन्द गरेर राति सुतेका उनीहरू विहान मृत फेला परेपछि घटना रहस्यमय बनेको थियो। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा पुगेको थियो। स्थानीय दीपक राउतका अनुसार पसलको भित्रि भागमा एउटा खाट राखेर आमा र छोरा सुत्ने गर्दथे।

पक्राउपछि बयानका क्रममा आरोपित थापाले मोबाइल, हतियार र कपडा राखेको सबै स्थान भनेपछि प्रहरीले बिहीबार सम्बन्धित ठाउँमा गएर उक्त दशीप्रमाण ल्याएको छ। एसपी योगीले प्रारम्भिक बयानमात्र सकिएकाले घटनाको थुप्रै अनुसन्धानको पाटो बाँकी रहेको बताए।

उनले भने, ‘हामी प्रारम्भमा छौं। यसको विस्तृत विवरण आउन समय लाग्छ। त्यसैले अहिले अदालतबाट पहिलो चरणमा सात दिनको म्याद लिई अनुसन्धान सुरु गरेका छौं।’ उनले घटनाका प्रमाणलाई नष्ट हुन नदिन र थप प्रमाण पुष्टि गर्न ल्याब टेष्ट, फरेन्सिकलगायतका प्रविधिबाट गरिने परीक्षणका लागि प्रयोगशालामा पठाएको बताए। आरोपितलाई कर्तव्य जानसम्बन्धी कसूरअन्तर्गतको मुद्दामा अदालतबाट म्याद लिएको बताए।

‘दाहसंस्कार, पोष्टमार्टम, शव उठ्नुअघि सबै ठाउँमा आरोपित त्यहीँ भीडमा थिए,’ उनले भने, ‘सामान्यतः उनीसँगै भएकाले शंका गर्ने ठाउँ रहेन्। तर, हामीले शंका गरिरहेका थियौं। प्रायः सबै जना पसलभित्र प्रवेश गरेर शव हेरे, उनी बाहिरमात्र बसे। त्यसपछि हामीले शंका गर्‍यौं। त्यसलाई निरन्तरता दिँदैगर्दा उनी अलि टाढा भएजस्तो व्यवहार देखाउँथे।’

स्थानीयले केही जानकारी पाए पनि प्रहरीलाई सूचना नदिँदा ढिला हुन गएको उनले बताए। पोष्टमार्टम गर्न पुग्दा प्रहरीले गुगुलबाट मोबाइलको लोकेशन पत्ता लगाउँछ भन्ने कुरा हल्ला भएको आरोपितले सुनेपछि मृतकको मोबाइल फर्किनेक्रममा सोरुङ्ग खोला नजिक फालिदिएको बयानका क्रममा खुलेको छ।

।

प्रतिक्रिया
सम्बन्धित समाचार