पोखरा,४ असोज २०८१।
काठमाडौंको दरबारमार्गमा बिहिबार आयोजित कन्सर्टबाट एक जना ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा रहेका युवा पक्राउ परेका छन्।
बझाङ जिल्लाको मष्ट गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाण्डौको माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्कालाई कन्सर्टस्थल दरबारमार्गबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
त्रिचन्द्र कलेजमा बीएस्सी पहिलो वर्षमा अध्ययनरत खड्कालाई प्रहरीले उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोप लगाएको छ। खड्का बालेनको टी-सर्ट लगाएर इन्द्रजात्रा पनि हुलदंगा गरेपछि प्रहरीले निगरानीमा राखेको थियो । तीनै व्यक्तिहरू नेशनल डे कन्सर्ट सुरु हुने बेला देखि नै बालेन ! बालेन ! भन्दै नारा लगाउँदै पछाडि जम्मा भएपछि प्रहरीले सुरुमा सम्झाइ बुझाइ गरेको बताइएको छ ।
साँझमा प्रधानमन्त्री आएर सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने बेला उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए ।
समाचार स्रोतहरुका अनुसार, उनीबिरुद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ ले प्रहार गरेर घाइते बनाएका थिए। घाइते लामा अहिले खतरामुक्त भइसकेका छन्। तर उक्त घटनापछि फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी म्याद थप गर्ने तयारी गरिरहेको हो।
खड्काविरूद्ध ज्यान मार्ने उद्योग कै अर्को घटना पनि रहेको खुलेको हो। यद्यपि उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ।