पोखरा,३ असोज २०८१।
बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
बाँकेको कुण्डा–नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा भे १२ प ३१९५ नंको मोटरसाइकल र भे १२ प ४८२८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन्।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नम्बर ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए।
दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका ४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन्। घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।