पोखरा,२७ भदौ २०८१।
प्रेमी लगायत मिलेर हत्या गरिएको ठानिएकी म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ।
हत्यामा संलग्न भनिएका पाँचै जना जेल चलान भए पछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको हो ।
गत वर्षको पुस १६ गते रातिदेखि वेपत्ता भएकी मीनाको शव (कंकाल) साउन २७ गते म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो।
दाहसंस्कारमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । मृतक परियारको श्रद्धाञ्जली सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित दलित अधिकारकर्मीको उपस्थिती रहेको थियो ।
यस अघि मृतक परियारको हत्यामा संलग्न मुख्य आरोपी प्रेमी भनिएका २५ वर्षीय राम खत्री, रामकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने आदेश भएको थियो । उनीहरु अहिले म्याग्दी जिल्ला कारागारमा बन्दी छन्।
मृतक मीनाको हत्यामा सामुहिक संलग्नता भएको भन्दै पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग राखेर दाहसंस्कार नगरी बिरोध प्रदर्शनमा उत्रिएका थिए। उनको शब बेनी अस्पतालको शवगृहमा राखिएको थियो । मीना बेपत्ता भएपछि निरन्तर परिवार र दलित संघसंस्थाले चरणबद्ध आन्दोलन गरेका थिए ।
मृतक परियारको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोट बाहेक अन्य सबैमा हत्या नै भएको देखिएको थियो । मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात् सर्वस्व सहित जन्म कैद सजाय तथा अन्य अभियुक्तलाई समेृत ज्यान सम्बन्धि कसुर अन्तरगत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ।