मिना परियार हत्या प्रकरण : प्रेमीसहित पाँच जना कारागार चलान

मिना परियार हत्या प्रकरण : प्रेमीसहित पाँच जना कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ भाद्र २०८१
  • 4.4K
    Shares

निना परियारको हत्याका बिरुद्ध आन्दोलित गाउँले

पोखरा,२६ भदौ २०८१।

म्याग्दीकी मिना परियार हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रेमी राम खत्रीका चार सहित पांच जना जेल चलान भएका छन्।

गिठिनी जङ्गलमा गाडेको अवस्थामा कंकाल भेटिएको म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या आरोप लागेका मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्री जेल चलान भएका हुन्।

म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको मङ्गलबारको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि पाँचै जनालाई म्याग्दी जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिए । अदालतको यस आदेश संगै उनीहरु अदालतले अर्को आदेश नआएसम्म अब म्याग्दी जिल्ला कारागारमा बन्दी जीवन बिताउनु पर्ने हुन्छ।

गर्भवती मिनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूविरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार माग दाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो ।

आठ महिनादेखि बेपत्ता रही गत साउन २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरीअनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

विसं २०८० पुस १६ गतेबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जङ्गलमा गंगटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

गिठिनी जङ्गलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल र कपडाबाट उक्त शव करिब आठ महिनादेखि बेपत्ता १९ वर्षीय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेका थिए । मृतक बुबाले गत साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम, निजकी आमा, दाई, भाई र सालासमेत गरी पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दायर गरेका थिए ।

तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्री बीच प्रेम सम्बन्ध भइ पटकपटक यौन सम्पर्कबाट मिनाको छ महिनाको गर्भ रहेको खुलेपछि रामले पटकपटक उक्त गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।

हत्याका मुख्य अभियुक्त खत्री यसअघि विसं २०७६ फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार