पोखरा,१९ भदौ २०८१ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ स्थित केराघारीभित्र मृत भेटिएका दुई नाबालिकाको आफ्नै हत्या आफ्नै आमाले हत्या गरेको खुलेको छ।
झापाको बिर्तामोडबाट पक्राउ गरेर ल्याइएकी अस्मिता कार्कीले केराघारीभित्र आफुले नै दुई वटा छोरीलाई बिष खुवाएर मारेको स्वीकारेपछि उक्त रहस्य खुलेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा सन्क्षिप्त प्रतिक्रिया जनाउदै अस्मिताले शुरुमा आफुले बिष खाएको र आफू मरेपछि दुई छोरीहरु जंगलमै अलपत्र पर्ने सम्झिएर दुवै छोरीलाई पनि बिष खुवाएर मारेको बताइन्। `मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ,´ उनले भनिन्, `श्रीमानले धेरै टर्चर गरेपछि मैले यसो गरेकी हुँ ।´
पांच दिन अघि सुन्दर हरैचा ७ स्थित केराघारीमा एक वर्षिया आईका र तीन वर्षीया अर्पणा मृत भेटिएका थिए। त्यस दिन्देही बेपत्ता रहेकी अस्मिता कार्कीलाई प्रहरीले आज झापाको बिर्तामोडबाट पक्राउ गरेको हो।
बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा भेटिएकी अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार गरे पछि प्रहरीले उनीसंग उक्त हत्याकाण्डका बारेमा सोधपुछ गरेको थियो।
जिल्लाप्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले अस्मिता कार्कीबिरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । अर्जुन पत्नी र दुई छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए ।
त्यहीं उनले नयाँ घर पनि बनाउँदै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि अस्मिता कार्की दुई जना नाबालिका छोरीलाई च्यापेर बेपत्ता भएकी थिइन् ।
दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । केरा बगानभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरुको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो ।