वडाध्यक्ष यादवको नियोजित हत्या भएको आशङ्का

वडाध्यक्ष यादवको नियोजित हत्या भएको आशङ्का


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ भाद्र २०८१
  • 4K
    Shares

पोखरा,१८ भदौ २०८१ ।

सवारी दुर्घटनामा परेर मृत्यु भएको भनिएका महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको मृत्यु शंकश्पद भएको परिवारजनले बताएका छन्।

गएको भदौ ९ गते आइतबार बिहान बर्दीबास नपा–८ स्थित बर्दीबास–औरही सडकखण्डको कलभर्टमुनि मृत भेटिएका वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको प्रहरीको दाबी छ। शोकाकुल परिवारका आफन्तले भने आर्थिक लेनदेनका कारण यादवको हत्या नै भएको जिकिर गर्दै आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पनि दुर्घटनालाई ‘रहस्यमय’ र ‘शङ्कास्पद’ भएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बद्ध निकायसँग माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति महोत्तरीले दिवङ्गत वडाध्यक्ष यादवको रामगोपालपुर–२, टेङ्गरस्थित निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिवङ्गत वडाध्यक्षका दाजु सत्येन्द्रप्रसाद यादवले गत वर्षको एक घटनाक्रम उल्लेख गर्दै सोही कारण आफ्नो भाइको हत्या नै भएको दाबी गर्नुभयो ।

दाजु सत्येन्द्रप्रसाद यादवका अनुसार गत वर्ष (२०८० साल) असोजमा सीमावर्ती समसी गाउँपालिका–६ स्थित बजार क्षेत्रमा रहेको सङ्गम होटेल एन्ड गेस्ट हाउसमा प्रहरीले छापा मारी तीन महिलासहित छ जनालाई रङ्गेहात पक्राउ गरेको थियो । जिल्ला प्रहरीले पनि पक्राउ पर्नेमा होटेल सञ्चालक औरही–६, भोइलगाउँका ४२ वर्षीय सञ्जीवकुमार झा पनि रहेको जनाएको थियो ।

स्थानीय सामुदायिक विद्यालयका शिक्षकसमेत रहेका झालाई न्यायिक हिरासतमा राखी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

एक त साथी अर्को छिमेकी गाउँको भएकाले आफ्नो भाइ मुकेशले होटेल सञ्चालक झालाई हिरासतबाट छोडाउन धरौटीका लागि १६ लाख रुपियाँ सापट दिएको सत्येन्द्रले दाबी गरे ।

“झाले वर्ष दिन पुग्न लाग्दा पनि फिर्ता गर्न नमानेको सोही रुपियाँका कारण मेरो भाइको हत्या गरिएको हो,” सत्येन्द्रको दाबी छ । नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा जितेका आफ्ना भाइको मृत्युको कारणमा राजनीतिक इबी र ईष्र्या, द्वेष पनि हुन सक्ने उहाँको आशङ्का छ ।

मृतक वडाध्यक्षकी श्रीमती आइती यादवले घटनाको रात झाकी श्रीमती चाँदनीसँग फोनमा कुरा हुँदा सबै साथमै रहेको बताए पनि मुकेशसँग कुरा गर्न नदिएको, राति १२ बजेतिर ऊ आफैँले फोन गरेर मुकेश घर गयो भनेको तर बिहान मृत्युको खबर आएको बताउनुभयो । “यो हत्या नभएर के हो त ?” उहाँको प्रश्न छ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका महोत्तरी इन्चार्ज राजु खड्काले शवको प्रकृति तथा घटनास्थलको अवस्थाले यो दुर्घटना नभई हत्याको आभास दिलाएको बताउनुभयो । उहाँले पार्टीका तर्फबाट जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार घटनास्थलमा चिह्नित गरिएका विभिन्न आठ वटा बँुदाले वडाध्यक्ष यादवको मृत्युलाई शङ्कास्पद बनाएको उल्लेख छ । प्रदेश सांसद तथा पूर्वमन्त्री भरतप्रसाद साहले मुकेशको अन्त कतै हत्या गरेर दुर्घटना भएको देखाउन कलभर्टमा फालेको हुन सक्ने सम्भावित कारणहरू उल्लेख गर्नुभयो ।

मुकेशको काठमाडौँको टिचिङ अस्पतालमा शव परीक्षण हँुदा साथै रहनुभएका माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले छाती र टाउकोमा लागेको घाउ खत, बायाँ तिघ्रामा देखिएको नीलडाम जस्ता कारण र लक्षणले दुर्घटना भएको विश्वास गर्न नसकिने बताउनुभयो । प्रहरी उपरीक्षक नकुल पोखरेलले प्रहरीले हरेक कोणबाट घटना विश्लेषण तथा अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार