पोखरा,८ भदौ २०८१ ।
डेराकोठाबाट हराएका बालक शुक्रबार फेवातालमा मृत भेटिएका छन्। पर्वतको फलेबास नगरपालिका–२, थापाठाना घर भई हाल पोखरा–७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव शुक्रबार फेवातालमा मृत भेटिएका हुन्।
बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी डेरा कोठाबाट निस्केका उनी शुक्रबार फेवातालमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
बिहिबार दिउसोदेखि सम्पर्कबिहीन भएका प्रस्तावको खोजीका लागि उनका परिवारले प्रहरीलाई खबर गरेका थिए भने सामाजिक संजालबाट पनि उनको ब्यापक खोजि भएको थियो। तर उनका साथीहरुले पोखरा १७ ड्यामसाइडस्थित फेवातालमा हाम फालेको जानकारी दिएव्पछि उक्त स्थानमा खोजी शुरु गरिएको प्रहरीको भनाई छ।
उनको खोजीका लागि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट खटिएको संयुक्त उद्धार टोलीले शुक्रबार दिउँसो ३ बजे उनलाई तालमा डुबेको अवस्थामा भेट्टाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।