फेसबुकमार्फत प्रम ओलीलगायत एमालेका नेताहरुलाई मार्ने धम्कि दिने खेलकुदका प्रशिक्षक धादिङबाट पक्राउ

फेसबुकमार्फत प्रम ओलीलगायत एमालेका नेताहरुलाई मार्ने धम्कि दिने खेलकुदका प्रशिक्षक धादिङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ साउन २०८१
  • 4.6K
    Shares

धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामा

पोखरा, २८ साउन २०८१।

प्रधानमन्त्री केपी शर्मा ओली लगायात एमाले नेताहरुलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिने खेलकुद प्रशिक्षक धादिङबाट पक्राउ परेका छन्।

धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामा प्रधानमन्त्री ओली लगायात एमाले नेताहरुलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिएको आरोपमा धादिङबाट पक्राउ परेका हुन्।

फेसबुकमा प्रम ओलीलगायत एमालेका नेताहरुलाई मार्ने धम्की दिएका लामाबिरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परे पछि आइतबार साँझ लामालाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्दै आएका थिए । लामालाई समाजिक सञ्जालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकबाट व्यापक गुनासो आएपछि आइतबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै आएका थिए ।

गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो ।

लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवादबारे सामाजिक सञ्जाल फेसबुक ओलीसहितलाई मार्ने भन्दै लेखेका थिए । यसलाई लिएर एमाले गजुरी गाउँपालिका कमिटी आपत्ति जनाएको थियो ।

लामालाई जथाभावी नलेख्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको ज्यान लिन सक्ने उल्टे धम्की दिएको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए ।

स्थानीय तहमा कार्यरत कर्मचारी उनले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेपछि ओलीबिरुद्ध गाली गलौज गर्दै आएका थिए । लामाको व्यवहारबारे एमालेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा पनि मौन बसेपछि कानुनी विकल्प खोजिएको अध्यक्ष मिजारले बताएका छन् ।

लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए । लामालाई साइबर ब्यूरोको टोलीले आइतबार नै काठमाडौं लगेर अनुसन्धान थालेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार