पोखरा, २८ साउन २०८१।
म्याग्दीमा गाडेको अवस्थामा एउटा मानव कंकाल भेटिएको छ। जिल्लाको बेनी नगरपालिका-९,आंखखेत कालीमुलमा आइतबार दिउँसो साढे ३ बजे गाडेको अवस्थामा एउटा मानव कंकाल भेटिएको छ।
प्रहरीका अनुसार , शब गाडेको क्षेत्र कालीमुलमा प्रशस्तै गंगटा पाइने भएकाले नेप्टेचौरका दिपक परियार, शुसिल परियार र सनम परियार गंगटा मार्ने क्रममा त्यहाँ पुगेका थिए। कालीमुलमा गंगटा खोज्दै गएका उनीहरुले जमिनमा गाडेको अवस्थामा मानव कंकाल, चप्पल,कपडा भेट्टाएपछि गाउँमा खवर गरेका थिए र त्यसको सुइंको पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरत श्रेष्ठको नेतृत्वमा खटिएकोे टोलीले घटनास्थलबाट कंकाल तथा सम्पूर्ण सामग्री संकलन गरेर अनुसन्धान थालेको छ । म्याग्दीका डिएसपी श्रेष्ठले कंकाल सहित अन्य प्रमाणहरूलाई थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइने जानकारी दिए।

यता घटनास्थलमा देखिएको मानव कंकाल र अन्य सामग्रीका आधारमा घटनास्थलमै पुगेका आफनतले उक्त मानव कंकाल विगत ८ महिनादेखि बेपत्ता तोरीपानीकी १९ वर्षीया परियारको भएको दावी गरेका छन् । मीना बेपत्ता हुनुभन्दा अगाडी एक तोलाको सिंक्री खरिद गरेको, जाडो मौसम भएकाले बाख्लो कपडा लगाएको र कपडाको रंग समेत मिलेको आफन्तको भनाई छ ।
२०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएकी मिनाको खोजीका लागि अभियान नै संचालन गरिएको थियो र त्यति बेला सोहि अभियानकै क्रममा संघीय सरकारका तत्कालिन गृहमन्त्री रबी लामिछाने, राज्यब्यवस्था समितिका सभापति रामहरी खतिवडा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका निकायलाई समेत ज्ञापनपत्र बुझाइएको थियो । त्यति बेला सोही खोजीका क्रममा उनी छिमेकी गाउँका स्थानीय युवा राम खत्रीसँगै रहेको तथ्य फेलाको थियो ।

मीनाको खोजीकार्यको क्रममा हाल पुर्पक्षमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको आदेश अनुसार जिल्ला कारागारमा रहेका अभियुक्त खत्रीले मीनासँग प्रेम सम्बन्ध रहेको र यौन सम्पर्कसमेत राखेको स्वीकार गरे पनि आफूले बेपत्ता नबनाएको दावी गदैं आएका थिए ।
मीना र अभियुक्त खत्रीबिच सामाजिक सञ्जालमा कुराकानी भएको, खेत जोत्ने बेलामा चिनजान भएको, शारीरिक सम्बन्ध भएको, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने सल्लाह भएको म्यासेन्जर च्याट समेत भेटिएको थियो । बेपत्ता मीनाको मोबाइलको अन्तिम ‘लोकेसन’ उत्तरी म्याग्दीको बैसरी आसपासको क्षेत्र देखिएको थियो।