पोखरा, २५ साउन २०८१।
काम गर्ने माहोल नभएको भन्दै शहरी योजना आयोग पोखराका उपाध्यक्ष र दुई जना सदस्यले पोखरा महानगरका मेयर धनराज आचार्य समक्ष राजीनामा दिएका छन् ।
आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले शहरी योजना आयोगको अध्यक्षसमेत रहेका मेयर आचार्यलाई राजीनामा बुझाएका हुन् । राजीनामा मेयर आचार्यले स्वीकृत भने गरेका छैनन् ।
पांच सदस्यीय आयोगका २ सदस्यहरु सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा दिएका छैनन् । उपाध्यक्ष प्रेमलाल लामिछानेले नियुक्त हुने बेला बनाइएको कार्ययोजना अनुसार काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् ।
पूर्व प्रजिअ समेत रहेका लामिछाने गत असार १३ गते उपाध्यक्षमा नियुक्त भएका थिए । नियुक्तिपछि उपाध्यक्ष लामिछानेसहितको टोलीले ३३ बुँदे कार्ययोजना बनाएको थियो । त्यस कार्ययोजना अनुसार काम गर्न नसकेपछि राजीनामा दिएर बाहिरिएको लामिछानेले बताए ।
प्रजिअ भएर जिल्ला हाँकेका लामिछाने र अन्य सदस्यलाई जहिल्यै कर्मचारीले मर्यादाक्रम र कामको विषयलाई लिएर तारो बनाएका थिए । जनप्रतिनिधिले पनि आयोगका पदाधिकारीलाई कहिल्यै सहजरुपमा स्वीकार गर्ने माहोल नै बनेन । मेयर आचार्यले पनि पदाधिकारीका समस्या समाधानतिर खासै चासो देखाएनन् ।
उपाध्यक्षसहित तीन जनाको महानगरको दोस्रो पञ्चवर्षीय योजना र मध्यमकालीन खर्च संरचनाको काम बाँकी रहेकाले ती काम सकेर मात्र जान आफूले आग्रह गरेको मेयर आचार्यले बताए ।
समाधान दैनिकमा खबर छ ।