पोखरा, २५ साउन २०८१।
आफुले काम गर्ने मिल मालिकको चार लाख रुपियाँ चोरी गरेर भागेका एक युवा लमजुङमा पक्राउ परेका छन्। बेंसीसहर नगरपालिका ११, चिती तीनपिप्लेमा मिल संचालन गर्दै आएका गणेशप्रसाद श्रेष्ठको घरबाट नगद चोरी गरेर भागेका युवालाई प्रहरीले पक्राउ गरेको हो।
श्रेष्ठको घरबाट बुधबार बिहान साढे १० बजेतिर नगद चोरेर भागेका पाल्पाको तानसेन नगरपालिका ३ घर भएका ३९ वर्षीय हरि रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
अभियुक्त रानालाई लुकिछिपी हिँडिरहेको अवस्थामा प्रहरी चौकी श्रीमन्ज्याङबाट खटिएको टोलीले दोर्दी गाउँपालिका २, अर्चलबोट नजिकैबाट साँझ ६ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चार लाख रुपियाँ चोरी गरेर भागेको भनिएका अभियुक्त रानाको साथबाट नगद ३ लाख ७५ हजार १ सय ६० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए।
अभियुक्त रानाबिरुद्ध लमजुङ जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप अनुमति लिई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।