पोखरा, २५ साउन २०८१।
डडेल्धुरामा बिहिबार अपरान्ह जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्। बसपार्कबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१च ०१३४ नम्बरको जीप जिल्लाको अमरगढी नगरपालिका–५ पीपलचौतारास्थित नालीमा खसेर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा परेर छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया ईश्वरीदेवी विष्ट, आठ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन् ।
घाइतेमध्ये ईश्वरीलाई थप उपचारका लागि धनगढी पठाइएको र बाँकी सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । जिपमा चालकसहित आठ जना सवार थिए । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।