पोखरा,१६ साउन २०८१।
१७ वर्ष अघि नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या गरेर भागेका एक युवालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।
ललितपुर इमाडोल घर भई नेपाल कमर्स क्याम्पसमा पढाउँदै आएका ३३ वर्षीय विष्टको २०६४ सालको असार २६ गते ललितपुर महानगरपालिका–२२ शंखमुलमा हत्या गरेर भागेका काठमाडौं कोटेश्वरका ३९ वर्षीय रन्जन खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बैंग्लोरबाट पक्राउ गरेर नेपाल ल्याएको छ।
भारतमा रंग लगाउने काम गर्दै आएका खड्का र धादिङको गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा समेत मिलेर त्यस दिन प्रा. विष्टको हत्या गरेको प्रहरीको दाबी छ।
हाल काठमाण्डौ ल्याइएका खड्काले प्रा. विष्टलाई सुरुमा गालामा थप्पड हानेको र अन्य व्यक्तिले रडले प्रहार गरेर हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
यसअघि बिष्टको हत्या आरोपमा २०८० साल चैत ६ गते सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् । उनी भने ३ लाख धरौटीमा छुटिसकेकी छन् ।
प्राध्यापक बिष्ट २०६४ साल असार २६ गते ललितपुर महानगरपालिका–२२ शंखमुलमा शरीरका विभिन्न भागमा चोट लागेर घाइते भै बेहोस अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार गत चैतमा पक्राउ परेकी सोभित नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको प्राध्यापक विष्टसँग चिनजान भएको थियो ।
क्याम्पसमा थापालाई विष्टले जिस्क्याएपछि विवाद सिर्जना भएको थियो । थापाले यो कुरा आफ्ना भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई उक्त कुरा बताएर विष्टको हत्या योजना बनाएको खुलेको थियो ।
हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको खुलेको थियो ।
३ चैत २०६९ मा झापामा लागुऔषधको कसुरमा सोभिताका भाइ विनोद पक्राउ परेका थिए । लागुऔषधको कसुरमा उनलाई ४ वर्ष कैद र २ लाख जरिवानाको फैसला भएको थियो । लागु औषधमा पक्राउ परेपछि उनलाई ललितपुर जिल्दा अदालत उपस्थित गराएर बयान गराइएको थियो । जसमा जन्मकैदको फैसला सुनाइएकोमा उनी कैद बसेर संविधान दिवसको अवसरमा ३ असोज २०७९ मा रिहा भएका थिए ।
त्यस्तै अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेर १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।
त्यतिबेला सोभिताको मुद्दा तामेलीमा राखिएको उल्लेख गरेको थियो भने हाल पक्राउ परेका आरोपी रन्जन खड्कको हकमा मुल्तबीमा राखिएको थियो । त्यतिबेला दुई वर्षसम्म रन्जनको सम्पत्तिसमेत रोक्का गरिएको थियो ।
सम्पत्ति रोक्का गर्दा दुई वर्षसम्म पनि उनीहरू सम्पर्कमा आएका थिएनन् । घटनाको १७ वर्षपछि भने प्रहरीले उनलाई पक्राउ गरेको हो । अब उनलाई थुनछेक बहसका लागि अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।