पोखरा,८ साउन २०८१।
पोखराबाट जिल्ला प्रहरी कार्यालय कास्कीका नक्कली सुचना अधिकारी पक्राउ परेका छन्। आफूलाई ” जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी” भएको दाबी गर्दै काम गरिदिने बहाना बनाएर रकम माग गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने बर्ष २१ को सुजित क्षेत्रीलाई पक्राउ गरेको हो।
अभियुक्त क्षेत्रीले WhatsApp तथा Telegram मार्फत सम्पर्क गरेर विभिन्न व्यक्तिहरुसंग रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आइतबार लामाचौरबाट पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ।
अभियुक्त क्षेत्रीबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा पांच दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।