पोखरा,६ साउन २०८१।
पोखरामा आज एकाबिहानै हाइलक्स गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाएर भएको दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पोखराको लेकसाइडस्थित हल्लनचोकमा आज सबेरै पौने ६ बजे ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर पोखरा महानगरपालिका वडा नम्बर ८ बस्ने २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा सख्त घाइते भएका परियारलाइ तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा पौने ७ बजे चिकित्सकहरुले मृत घोषणा गरको प्रहरीले बताएको छ।
उक्त दुर्घटना पश्चात आबश्यक अनुसन्धानका लागि भन्दै वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्णमा भएको दुर्घटनामा पुष्पराजको मृत्यु
यसअघि, कास्कीमा नै भएको सवारी दुर्घटना हुँदा अर्का एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ लक्ष्मी देउरालीका ४२ वर्षीय पुष्पराज पौडेल छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार शुक्रबार राति अन्नपूर्ण गाउँपालिका वडा नं. ३ चुइनेपहरास्थित सडकमा बिएए ४४४८ नम्बरको स्कारपियो र ना३५प ६७३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
मृत्यु हुने पौडेल मोटरसाइकल चालक भएको प्रहरीले जनाएको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।