पोखरा, ४ साउन २०८१।
पर्यटकीय नगरी पोखराको गहना फेवातालको माथिल्लो भाग हर्पनखोलामा डुबेर दुई युवाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दिउसो दुई युवाको मृत्यु भएको हो।
हर्पन खोलामा पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनीहरूकाे गोताखोरसहित प्रहरी टोलीले शव फेला पारेको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।