लमजुङमा सुपर न्यादी जलविद्युत आयोजनाको बोलेरो जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

लमजुङमा सुपर न्यादी जलविद्युत आयोजनाको बोलेरो जीप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ चैत्र २०८०
  • 9.3K
    Shares

लमजुङमा दुर्घटनाग्रस्त सुपर न्यादी जलविद्युत आयोजनाको बोलेरो जिप तान्दै स्थानीय बासिन्दा र सुरक्षाकर्मी

लमजुङ, २४ चैत २०८०/

लमजुङमा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको बोलेरो जीप दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका– ६ डहरे स्थित निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको बोलेरो जीप शुक्रबार बिहान करिब सवा ९ बजेतिर काफलडाँडा स्थित हाइड्रोको आउटलेट नजिकै घुम्तीमा दुर्घटनाग्रस्त हुँदा जिप चालकको घटनास्थलमै मृत्यु भएको हो।

आयोजनामा कामदार पुर्याएर फर्कने क्रममा भएको उक्त दुर्घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–४ घर भएका जिप चालक ३७ बर्षिय बिर सिंह दमाईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जीप सडकदेखि करिब चारसय मिटर तल खसेको र चालक दमाई भिरमा अड्किएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए ।

भिरमा अड्किएको अवस्थामा भेटिएको चालक दमाइको शबलाई प्रहरीले डोरीको सहायताले सडकमा निकाली प्रारम्भिक अनुसन्धान पश्चात शव परिक्षणको लागि लमजुङ अस्पताल बेसीशहर ल्याएको प्रहरीले बताएको छ।

इन्सपेक्टर चपाईका अनुसार जीप घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारे अनुसन्धान भैरहेको उनले बताए । दुर्घटनाको सूचना लगत्तै प्रहरी चौकी बाहुनडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार