पोखरा, २३ चैत २०८०/
दिउसै घरको ताला फोडेर सुनका गरगहना र नगद चोरी गरेको आरोपमा गोरखाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको इस्लामपुर वडा नं. ८ रक्सौल पूर्वी चम्पारण बिहार घर भई गोरखा नगरपालिका वडा नं. ८ स्थित सिमलगैरी बस्ने बर्ष ३२ को मोहम्मद जफरलाई दिउसै घरको ताला फोडेर सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले गोरखाबाट पक्राउ गरेको हो।
अभियुक्त मोहम्मद जफरले गएको बुधबार बिहान करीब १० बजेको समयमा गोरखा ८ पेट्रोलपम्प स्थित राम कुमारी भट्टको घर कोठाको ढोका फुटाई कोठा भित्र रहेको सुनका गरगहना तथा नगद समेत चोरी गरेको आरोप प्रहरीले लगाएको छ। अभियुक्तले उक्त घरबाट सुनको सादा रिङ एक थान, सुनको हार एक थान, सुनको झुम्का एक थान, सुनको चुरा एक थान, झुम्का जोर एक थान, सुनको सिक्री एक थान, सुनको टप एक थान, Samsung कम्पनीको S9+ मोबाईल एक थान र नगद १० हजार रुपियाँ रु.१० हजार रुपियाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
प्रहरीले अभियुक्त जफरबिरुद्ध नकवजनी चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिएको प्रहरीले जनाएको छ।