पोखरा, १६ चैत २०८०/
काठमाडौंको छाउनीमा एक डाक्टर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन्। धादिङ जिल्ला अस्पतालमा कार्यरत कन्सल्टेन्ट सर्जन ३४ वर्षीया डा. प्रतिभा धौबडेल छाउनीस्थित आफ्नै घरको शौचालयमा मृत भेटिएकी हुन्।
डा.धौबडेल शौचालयभित्र झुन्डिएको अवस्थामा देखे पछि डाक्टर समेत रहेका उनका श्रीमानले तत्कालै अस्पताल पुर्याए पनि उनलाई मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ।
धादिङ जिल्ला अस्पतालमा नवौं तहमा कन्सल्टेन्ट सर्जनका रुपमा कार्यरत धौबडेल एक साताअघि बिदा मनाउन घर आएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार धौबडेल डिप्रेसनकी बिरामी थिइन्। उनले औषधी सेवन पनि गर्दै आएको प्रहरीले जनाएको छ।
चार वर्षअघि विवाह भए पनि बच्चा भने थिएनन्। ‘प्रारम्भिकरुपमा हेर्दा आत्महत्या नै देखिन्छ। थप अनुसन्धान भइरहेको छ’, काठमाडौं प्रहरी परिसरका एक अनुसन्धान अधिकारीले भने।