खोलामा नुहाउन गएकी पाल्पाकी पद्मा सुनारको हत्या आरोपमा देवलाल पक्राउ

खोलामा नुहाउन गएकी पाल्पाकी पद्मा सुनारको हत्या आरोपमा देवलाल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ चैत्र २०८०
  • 21.8K
    Shares

पोखरा, १६ चैत २०८०/

पाल्पामा खोलामा नुहाउन गएकी युवतीको बिभत्स तरीकाले हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। घरदेखि करीब दुई किलोमिटर पर रहेको लप्सिखोलामा नुहाउन गएकी पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहास्थित कराङ्दीकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही वडाको लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी नरेन्द्र चन्दले धारामा भएको सामान्य बिबाद र गालीगलौज पछि रिसको झोकमा अभियुक्त सार्कीले पद्मा सुनारको बिभत्स तरीकाले हत्या गरेको जानकारी दिए।

एसपी चन्दका अनुसार, सार्कीले १३ गते दिउँसो १२ बजे धाराबाट अन्दाजी ५० मिटर पश्चिममा रहेको गोठमा काम गरेर हातमा हँसिया लिएर धारामा पुगेका थिए। धारामा पदमाले धोइसकेका लुगा डोकोमा हाल्दै गर्दा सामान्य विवाद भएको र त्यही क्रममा गालीगलौज गरेपछि रिसको झोंकमा धाराबाट अन्दाजी दुई सय मिटरअगाडि पुगेपश्चात् हँसिया प्रहार गरेर हत्या गरेको बताइएको छ। उनले हत्या गर्दा लगाएका लुगा, हँसिया र मृतकको मोबाइल पनि देवलालको कोठाबाट बरामद भएको छ।

प्रहरीका नुसार, गएको चैत १३ गते बिहान ९ बजेतिर नुहाउन लप्सिखोला सुनार दिउसो तीन बजेसम्म पनि घर नफर्किए पछि उनका परिवारजनले खोजि शुरु गरेका थिए। खोजीका क्रममा दिउँसो ४ बजेतिर खुलखुले गैरास्थित लप्सिखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेको लुगा फेला परेको थियो। त्यसभन्दा अन्दाजी २० मिटर तल खरबारीमा उनको शव फेला परेको थियो। पद्माको टाउको, घाँटी, र हातमा चोट लागेको थियो। आफन्तले उनलाई मृत अवस्थामा फेला पारेपछि साँझ साढे ५ बजेतिर प्रहरीलाई जानकारी गराएका थिए।

उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार