पोखरा, १६ फागुन २०८०/
लमजुङ सदरमुकाम बेंसीशहरमा एकबिहानै रेबिज लागेको भुस्याह कुकुरले टोकेर पांच जना घाइते भएका छन्। उक्त भुस्याह कुकुरले बेशिशहरस्थित भीमसेनस्थान चोकमा हिँडिरहेका मान्छेलाई बिहान पौने १० बजेतिर टोकेको हो.
कुकुरले टोक्दा बेंसीसहर नगरपालिका ७, पुरानो बैंक चोक बस्ने ८५ वर्षीय दलबहादुर गुरुङ, सोही ठाउँका १५ वर्षिय सोविन गुरुङ, मर्स्याङ्गदी गाउँपालिका ८, भुलभुलेका ४५ वर्षीया टिका गुरुङ, सोही ठाउँका ५७ वर्षीय बुद्धिकुमार श्रेष्ठ र बेंसीसहर नगरपालिका ७ चण्डिडाँडाका ५७ वर्षीय देवीप्रसाद गुरुङ घाइते भएको प्रहरीले जानकारी दिएको छ। उक्त कुकुरले प्रायः सवैको खुट्टा, पिडौलादेखि साँप्रासम्म टोकेर घाइते बनाएको बताइएको छ।
घाइतेमध्ये श्रेष्ठ बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार गरी डिस्चार्ज भएका छन् । अन्य ४ जना घाइतेहरु इम्युनु ग्लोवुलिन सुइ लगाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले कुकुरमा रेविज देखिएको बताए । मानिसलाई टोकिसकेको कुकुरमा रेविजको लक्षण देखिएको र एन्टिजेन ¥यापिड टेष्ट गर्दा रेविज पुष्टि भएको उनले जानकारी दिए। रेविजको लक्षण देखिएको अर्को एउटा कुकुरलाई पनि नियन्त्रणमा लिएर दुवै कुकुरलाई ‘पेनलेस किलिङ’ गरी व्यवस्थापन गरिएको छ । स्थानीयले भने दुबै कुकुरले टोकेर मानिसलाई घाइते बनाएको बतएका छन् ।