पोखरा, ९ फागुन २०८०/
दाङमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकस्थित घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान करिब ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् । सांकेतिक फाइल चित्र