पोखरा १८ पुष २०८०/
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोइला हानेको आरोप लागेका लमजुङका सन्तोष रानाभाट मंगलबार साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार रानाभाटलाई साधारण तारेखमा छाड्न आदेश दिए पछि उनी रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
पोखराको अमरसिंहचोकमा गत पुस ७ गते आयोजित आमसभालाई सम्बोधन गरिरहेका बेला रानाभाटले मकैको खोइलाले हानेका थिए। त्यति बेला रास्वपा सभापति लामिछानेले मकैको खोइला हान्ने रानाभाटलाई कुनै कारबाही नगर्न र घर पुर्याएर छाडिदिन प्रहरी प्रशासनलाई आग्रह गरेका थिए। तर आमसभा सकिए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की पुगेका लामिछानेले रानाभाटलाई भेटेका थिए।
उक्त भेटका क्रममा रानाभाटले मकैको खोइला हाल्नुको कारण प्रष्ट भन्न नसकेको, साथमा मनिपर्स, पैसा र परिचयपत्र समेत नदेखिएकाले यस बारेमा प्रहरीले अनुसन्धान गर्नु पर्ने बताएका थिए।
नेता लामिछानेले रानाभाटबिरुद्ध उजुरी नदिए पनि प्रहरीले आफ्नै अनुसन्धान प्रतिबेदन बनाएर रानाभाटबिरुद्ध अभद्र ब्यबहार मुद्दा चलाएको थियो।