मध्यरातमा चोरी गर्न सहकारीभित्र पसेका एक युवालाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा लमजुङबाट कर्यापझ्याप पारेर समातेका छन्।
लमजुङको सुन्दरबजार नगरपालिका ७ फिलिम हल चोक नजिकै रहेको एभरेष्ट वचत तथा ऋण सहकारी संस्थामा आइतबार राती पौने १२ बजेतिर चोरी गर्न प्रवेश गरेका युवालाई प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा लमजुङबाट कर्यापझ्याप पारेर समातेका हुन्। हाल जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा रहेका अभियुक्त गोरखा जिल्ला गण्डकी गाउँपालिका ७ घर भइ हाल सुन्दरबजार बस्ने २८ वर्षिय रमेश प्रजा रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, सहकारीमा रातीको समयमा चोर प्रवेश गरेको देखे पछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सहकारीमा चोरी हुन लागेको सूचना पाउना साथ ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरी टोलीले प्रजालाई सहकारीको स्टोर रुममा लुकिछिपि बसेको अवस्थामा समातेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले स्कुड्राइभर र रड पनि बरामद गरेको प्राप्त जानकारीमा उल्लेख छ।
अभियुक्त रमेश प्रजाबिरुद्ध सोमबार लमजुङ जिल्ला अदालतबाट चोरी उद्योग कसूरमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए ।