पोखरा, ३० मङसीर २०८०/
सरकारी कागजात किर्ते गरेको आरोपमा पोखराकी एक महिला जिल्ला प्रहरी कार्यालय मुस्ताङको हिरासतमा पुगेकी छिन्। पोखरा महानगरपालिका-२३ की ४४ वर्षीया पवित्रा गुरुङलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
पक्राउ परेकी गुरुङ र उनका श्रीमान् मिलेर सरकारी कागजात र छाप किर्ते गरेको अभियोग छ। उनलाई ५ दिनका लागि जिल्ला अदालत मुस्ताङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।
यसअघि सरकारी कागजात किर्ते गरेको आरोपी गुरुङलाई कास्की प्रहरीले पोखरा विमानस्थलबाट पक्राउ गरेको थियो। पक्राउ परेकी गुरुङलाई कास्की प्रहरीले थप अनुसन्धानका लागि बिहीबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाएको थियो। किर्ते आरोपी गुरुङको श्रीमानको खोज तलास भइरहेको प्रहरीले जनाएको छ।