लमजुङ, २७ मंसिर २०८० /
लमजुङमा ८० वर्षीया बृद्ध महिलालाई मोटरसाईकलले ठक्कर दिएर भागेका मोटरसाइकल चालक १३ दिनपछि पक्राउ परेका छन्। लमजुङको बेसीशहर नगरपालिका वडा नं. २ बोहोरा बेसी स्थित बेसीशहर डुम्रे सडक खण्डमा १३ दिन अघि मंसीर १३ गते बिहान १० बजे पैदल यात्री रहेकी बेसीशहर २ बस्ने बर्ष ८० की मनमाया धिताललाई ठक्कर दिएर भागेका मोटरसाइकल चालकलाइ प्रहरीले पक्राउ गरेको हो।
त्यस दिन ठक्कर दिएर भागेको ग ९ प ७६०६ नम्वरको २२० सिसिको पलसर मोटरसाईकलका चालक लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ७ बस्ने बर्ष १८ का सौगात परियारलाई १३ दिन पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ। उक्त मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी मनमाया धितालको उपचारको क्रममा मिति मंसीर १५ गते चितवन मेडिकल कजेलमा मृत्यु भएको थियो ।
तात्कालिन अवस्थामा ठक्कर दिने बेला नम्बर नखुले पनि अनुसन्धानका क्रममा पछि सौगात परियारले चलाएको ग ९ प ७६०६ नम्वरको मोटरसाइकलले बृद्धा धिताललाई ठक्कर दिएको खुले पछि मोटरसाइकल चालक परियार लमजुङको बेसीशहर ११ स्थित चितिमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।
अभियुक्त परियारबिरुद्ध प्रहरीले जिल्ला अदालत लमजुङबाट सवारी ज्यान सम्बन्धी कसूर सम्बन्धि मुद्दामा थप अनुसन्धान गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।