गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल त्रिशूली नदी किनारमा मृत फेला परेका छन् । दुई दिनदेखि सम्पर्कविहीन उनी पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा आइतबार राति ९ बजे मृत फेला परेका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले शव ढकालकै भएको पुष्टी गरे । उनको मृत्यु के कति कारणले भयो भन्ने खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले शव भेटिएको स्थान निकै अप्ठेरो रहेको बताउँछन् । छिमेकी गोरखा जिल्लातिरबाट त्रिशूलीमा डुंगा चढेरमात्र आउन सकिने उनले बताए । ‘राति भएकोले शवको फोटोमात्र खिचिएको छ । यसअघि पनि तीन–चार जना हराएको सूचना छ। तर फोटोको आधारमा केहीले पुष्टी गरे पनि परिवार तथा आफन्तले सनाखत नगरेसम्म भन्न मिल्दैन,’ उनी भन्छन् ।
स्याङ्जाका गायक रिजालले रहस्यमय ढंगले ढकालको मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । ‘आफूलाई २ दिनअघि फोन गरेर पोखरा आउँदैछु, कोठा खोजिदिन भनेका प्रिय मान्छेको निधनले निकै दुखी छु,’ रिजालले भने । रिजालका अनुसार ढकाल निकै स्पष्टवक्ता तथा मिलनसार थिए ।
यसैबीच कमल सरगमले फेसबुकमा एक स्टाटस राखेर “कृष्णभिर मुनि नदी किनार नजिक शंकास्पद रुपमा शव भेटिएको” उल्लेख गर्दै टाउको र शरिरमा समेत चोट रहेको शवको पक्कै प्रहरीले छानबिन गरि सत्यतथ्य बाहिर ल्याउने विश्वास गरेका छन्।
स्याङ्जाको चापाकोट नगरपालिका वडा ७, साखर घर भएका ढकाल केही समय दुवई पनि बसेका थिए । पछिल्लो समय हेर्ने कुरा डटकममा आबद्ध उनी नेपाली कांग्रेसनिकट थिए । केही म्यूजिक भिडियोमा उनले अभिनय गरेका छन्। सामाजिक सञ्जालमा ढकालको निधनप्रति हार्दिक श्रञ्द्धाजलीको बाढी छ।
असावधानीवास मृतक प्रकाश ढकालको फोटो हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। साथै हाम्रो असावधानीकाकारण सम्बन्धित व्यक्तिलाई पुग्न गएको पीडा प्रति हामि माफी माग्दै आगामी दिनहरुमा यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं – सम्पादक