प्युठानमा चार दिनदेखि हराइरहेका आमा-छोरा घर नजिकैको खरबारीमा मृत अवस्थामा भेटिएका छन्। नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका तीन वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा भेटिएका हुन् ।
कात्तिक २७ देखि हराइरहेका उनीहरु मध्ये आमा रिमाको शब शुक्रबार राति खरबारीको पाखोमा भेटिएको र उनको शब फेला परेभन्दा केही मुन्ति शनिबार दिउँसो दुई बजे तिर छोरा मुस्कानको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले जानकारी दिए।
उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए। रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्।
खरबारीमा आमा छोरा मृत भेटिए पछि उनीहरुको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उनीहरुको शरीरमा घाउचोट देखिएको र सधैं जसो हिडदुल नगर्ने त्यस क्षेत्रमा आमा छोराको शब भेटिएकाले हत्या भएको हुनसक्ने अनुमान डिएसपी थापाको छ।
आमाछोराको हत्या गरेको आशंकामा प्रहरीले रिमाका श्रीमान् २३ वर्षीय कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको पनि डिएसपी थापाले जानकारी दिए। कमल ज्याला-मजदुरी गर्छन्।रिमा र मुस्कानको शव पोस्टमर्टमपछि शनिबार बेलुकी आफन्तलाई बुझाइएको छ।